आज यो तुषारोको कम्बल ओढी,
खुला सगरले छत दिएको,
मेरा सपनाको घरलाई,
पहरा दिँदै छु म ।
अन्धकारले ढाकिएको जंगलका,
खोंचमा उभिएको छु म ।
शायद मैले त्यागेका शयनले,
यो मेरो देशलाई चैन दिन्छ ।
प्रतिज्ञा मैले आफैसित गरेको छु,
कर्तव्य
बोधले तेर्साएको बाटो समाएको छु,
प्रशंसाको निमित्त होइन,
कुनै तृष्णाले डोर्याएको होइन,
म त केवल यो मेरो देशलाई,
शान्त राख्न,
कुनै सशस्त्र संघर्षबाट जोगाउन आफ्नै अन्तर्मनको संघर्ष छिचोल्दै,
उद्धेश्य प्रति लम्किएको छु ।
मेरो देश निश्चिन्त छ,
किनभने मेरो संकल्प निश्चल छ,
शरीर थकित होला,
तर पाइला मेरा अथक छन् ।
जब–जब यो धर्ति काँपेर आउँछ,
तब–तब मेरो मनमा पनि,
त्यसका पराकम्पन् छाउँछन्,
जब–जब श्रावणमा गगन,
मेघका बोझले कराउँछ,
तब–तब फेरि कोशी रिसाउँछिन् कि भनि,
मेरो मन डराउँछ ।
तर जगत हड्बडाएपनि,
साहस मेरो डगमगाउँदैन,
आशा झिर्मिराएपनि,
तपश्या मेरो धिर्मिराउन्न,
चाहे यो देहले प्राण त्यागोस्,
तर मेरो आत्माले त्यो प्रण त्याग्दैन ।
म निरन्तर आफ्नो निष्ठाप्रति,
तन, मन, वचनले,
त्यो अम्बर चुम्ने सगरमाथा झैँ,
अडिग छु।
अराजकताका तत्त्व बीच,
म शान्तिको एक दूत हुँ,
राष्ट्रिय अखण्डतामा प्रहार हुँदा,
पराक्रमको म स्वरूप हुँ,
राष्ट्रसेवा प्रशंगमा,
म प्रतिक एक अनुप हुँ,
राष्ट्रप्रेम राष्ट्रभक्तिको प्रखर म सूत्र हुँ ।
तर आमा,
सम्झना नआउने होइन मलाई,
मेरा यादलाई अंगालेर सुत,
म फर्की आउने छु प्रिय,
ती सपनाका गहनालाई सम्हालेर राख,
र बुवा,
छोरा देशलाई समर्पित हुँदा,
बेदनाका मोतिले बुनेका तिम्रा ति मुस्कान,
यही फुलीसंग काँधमा सजाएको छु,
अन्यायसंग लड्ने हौसला दियौ बुवा,
तिमी आराध्य छौ,
यो देश शिरोपरी छ, सिकाउने सोच तिम्रो पवित्र छ ।
पिर नमान्नु है बुवा,
म फर्की आएन भने,
योदेशकोम छोरा हुँ ,
यही माटोमै मिस्सिने छु,
म कल्पना र कर्तव्यको,
संगमको मुर्त रुप हु।
सामाजिक दायित्वको म एक प्रबल मुहार हुँ ,
दंगा, द्वन्द अन्त्य गर्नुको म एक गुहार हुँ,
तिम्रो मात्र होइन आमा,
देशको पनि पुत्र हुँ,
राष्ट्रसेवा, राष्ट्रभक्तिको प्रखर म सूत्र हुँ ।

Comments
Post a Comment